जनकपुरधाम, ७ भदौ । सप्तरीमा तस्करीको सामान बरामद गर्न जाँदा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा झडप भएको हो ।

मंगलबार दिउँसो एक जना तस्करको घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको बताइएको छ ।

प्रहरी र स्थानीयबीच झडप हुँदा तीन राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रवक्ता काफ्लेले बोर्डर नजिकै रहेको घरमा तस्करीको सामान रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली जाँदा केही तस्करले उल्टै प्रहरीमाथि ढुंगामुढा गरेको र सो क्रममा तीनजना प्रहरी घाइते भएको बताए ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको उनले बताए । थप प्रहरी पठाएपछि अवस्था सामान्य भएको र मुख्य तस्कर फरार भएको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।