सप्तरीमा ४८४ उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

सप्तरी, ७ भदौ । सप्तरीमा स्थानीय तह निर्वाचनका ४८४ उम्मेदवारले मात्र निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
निर्वाचनका बेला गरेको खर्चको विवरण बुझाउनेभन्दा नबुझाउने उम्मेदवारको सङ्ख्या दसौं गुणा बढी छ ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार ४८४ उम्मेदवारले खर्चको विवरण बुझाएकामा नबुझाउनेको सङ्ख्या ५ हजार ५१ छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।
सजिलोका लागि राजनीतिक दल र उम्मेदवारका साथै तिनका प्रतिनिधिले समेत आयोगले तोकेको कार्यालय अर्थात् जिल्ला वा प्रदेश निर्वाचन कार्यालयसमक्ष खर्च विवरण बुझाउन सक्ने व्यवस्था भएकामा जिल्लाका अधिकांश उम्मेदवारले तीन महिना बित्दासम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कूल ८५६ पदका लागि ५ हजार ५३५ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।ती उम्मेदवारमध्ये ४८४ जनाले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले बताए ।
‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्न भनेको छ’, उनले भने, ‘तर आजसम्म ४८४ जनाले मात्रै खर्च विवरण बुझाएका छन् ।’
यसरी खर्च विवरण बुझाउनेमा ३४१ पुरूष र १४३ महिला उम्मेदवार छन् ।
निर्वाचित प्रमुखले समेत बुझाएनन् खर्च विवरण
जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकामा एक सय ६४ वडामा ८५६ जना निर्वाचित भएका छन् । निर्वाचितमध्ये १६८ जनप्रतिनिधि र निर्वाचित नभएका ३१६ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
उक्त कार्यालयको तथ्यांकअनुसार १२ वडा रहेको कञ्चनरूप र ११ वडा रहेको सप्तकोशी नगरपालिकाका कुनै पनि उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् तर जम्मा ५ वडा रहेको तिरहुत गाउँपालिकाका पराजित अध्यक्षका एक उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
प्राप्त तथ्याङ्क अनुसार निर्वाचित प्रमुख पदका उम्मेदवारले समेत तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् । राजविराज, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबैले निर्वाचन खर्च विवरण नबुझाएका हुन् । रूपनी, बलान बिँहुल, तिरहुत र अग्निसाइर कष्णसवरन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि खर्च विवरण बुझाएका छैनन् ।
यसैगरी हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख र छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष, खडक नगरपालिकाका उपप्रमुख, राजगढ र विष्णुपुर गाउँपालिकाका उपाध्यक्षले समेतखर्च विवरण नबुझाएको बताइएको छ ।
खर्च विवरण बुझाउने उम्मेदवारमा राजविराज नगरपालिकाका एक सय एक, बोदेबर्साइन नगरपालिकाका ७५, छिन्नमस्ता गाउँपालिकाका ६१ र हनुमाननगर कङ्कालिनी नगरपालिकाका ५१ जना छन् ।
राजगढ गाउँपालिकाका ४६, महादेवा गाउँपालिकाका ४२, तिलाठी कोइलाडी गाउँपालिकाका ३८ उम्मेदवारले पनि खर्च विवरण बुझाएका छन् ।
डाक्नेश्वरी नगरपालिकाका १९, विष्णुपुर गाउँपालिकाका १८, खडक नगरपालिकाका ९, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिकाका ६/६, अग्निसाइर कृष्णसवरन गाउँपालिकाका ५, सुरुङ्गा नगरपालिका र बलान बिँहुल गाउँपालिकाका ३/३ तथा तिरहुत गाउँपालिकाका एक उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


