दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद : नेता महर

काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुःखद भएको बताएका छन् ।
नेपाल विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्न नसक्दा दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य भइरहेको बताएका हुन् ।
‘एक तथ्यांकले हाम्रो देशका ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५७ प्रतिशत पाइलट र ६० प्रतिशत नर्सले देश छाडिसकेका रहेछन् । जुन निकै डर लाग्दो तथ्यांक हो । यसरी देशको दक्ष जनशक्ति विदेश पलायन हुने हो भने हामीले कसरी देश बनाउन सकौँला र?’, महरले भने ।
उनले आफूले विश्लेषण गर्दा लगानी नेपाल जस्तो गरिब मुलुकले गर्ने र फाइदा धनी मुलुकले लिने अवस्था रहेको बताए । ’त्यसैले अब हामी शिक्षालाई उत्पादनमुखि बजारसँग जोड्ने सवालमा गम्भीर हुनुपर्छ । राज्यको पहिलो दायित्व भनेको पनि त्यही नै हो । हामीले दक्ष जनशक्तिलाई देशमै रोक्न सक्यौ भने मात्रै देशले अपेक्षित विकास गर्न सक्छ,’ नेता महर भन्छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


