रौतहट, ७ भदौ । रौतहट प्रहरीले कुटपिट गरी वृद्धको हत्या गरेको अभियोगमा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–४ पैनी टोल बस्ने ७७ वर्षीय राम गोपाल घिमिरेको कुटपिट गरी हत्या गरेको अभियोगमा एकै परिवारका तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चन्द्रपुर–५ बस्ने रामचन्द्र चौधरी, उनकी श्रीमती प्रमिला चौधरी र छोरा अजय चौधरी रहेका छन् ।

चौधरी दम्पत्तीले पालेको बंगुरको फोहोर गत साउन २८ गते घर अगाडि फालेको विषयलाई लिएर घिमिरे र चौधरी दम्पत्तीबीच विवाद भएको थियो ।

विवादको क्रममा प्रमिला र उनका छोरा अजय मिलेर कुटपिट गरी घिमिरेलाई घाइते बनाएका थिए । घाइते घिमिरे उपचारपछि घर फर्किएका थिए । तर, आइतबार उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रियाअघि बढाइएको मल्लले बताए ।