चुनाव प्रचार–प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रस्ताव

काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले चुनाव प्रचार–प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।
सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् ।
चुनावमा मतदातालाई अनेकौँ प्रलोभनमा पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार–प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको उनले बताए ।
निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताए । सञ्चारकर्मीले निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलको मात्रै चुनाव चिह्न मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो नि ? भन्ने प्रश्नको जवाफमा उनले यसरी निर्वाचनमा भाग नलिएको दलको चुनाव चिह्न राख्नु सैद्धान्तिक र व्यावहारिक रुपमा ठिक नभएको बताए ।
जुन पार्टीको उम्मेदवार निर्वाचनमा भाग लिन्छ, त्यही पार्टीको निर्वाचन चिह्न मात्रै राख्ने आयोगको धारणा भएको भन्दै उनले कुनै दललाई लक्षित गरेर गर्न नखोजिएको स्पष्ट पारे ।
प्रवक्ता पौडेलले निर्वाचन आचार संहिताको विषयमा सबै राजनीतिक दलहरुको मिश्रित सल्लाह सुझाब आएको जानकारी दिए । आयोगले राजनीतिक दलका सबै सुझाबलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको उनको भनाइ छ ।
प्रवक्ता शर्माले निर्वाचन आयुक्तले सबै राजनीतिक दलहरुको सुझाबको स्वागत गर्दै सुझाबलाई समावेश गर्न मिल्नेसम्म समावेश गरेर सुधार गर्ने प्रतिबद्धता जनाएको बताए । निर्वाचन आयुक्तले राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन आग्रह गरेको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


