जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै भारतीय यात्रुलाई सहज

जनकपुरधाम, ६ भदौ । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुलाई सहज भएको छ ।
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो ।
वि.सं २०७८ चैत १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रूपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्न भन्दै भारतले रेल सेवा पूर्ण रूपमा बन्द गरेको थियो ।
गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शनसहित नेपाल घुम्न आउने भारतीय पर्यटकलाई सहज बनेको छ । यस्तै नेपालबाट भारत जाने र आउनेका लागि पनि रेल मार्ग सहज बनेको यात्रुको भनाइ छ ।
रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरु बताउँछन् । भारतीय पर्यटक सुमन भिवाले नेपालमा घुम्न आउँदा रमाइलो महसुस भएको बताइन् ।
उनले रेलको यात्रा पनि धेरै सहज र राम्रो रहेको प्रतिक्रिया दिइन्। पहिला धेरै समस्या हुने गरे पनि अहिले रेल सञ्चालनमा आएपछि भने धेरै सहज बनेको बताइन् । त्यस्तै भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताइन् ।
उनले दिनमा दुई पटक मात्रै चल्ने भएकोले केही समस्या भए पनि अब अब यो संख्यालाई बढाएर लैजानुपर्ने आवश्यकता रहेको बताइन् । रेल चल्दा समयका साथसाथै पैसाको पनि बचत भएको उनले बताइन् । उनले रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने बताइन् । यात्रु रञ्जुकुमारी देवीले रेल सञ्चालन भएपछि यात्राका लागि राम्रो भएको बताइन् ।
त्यस्तै भारत बिहारका रामकृष्णले रेल सञ्चालनपछि काठमाडौंको पशुपतिनाथ आउँदा सहज भएको र अन्य धार्मिक स्थलको भ्रमणका लागि यात्रा गर्न सहज बनेको बताए । उनले रेल सञ्चालनपछि समयको बचत भएको र सेवा पनि राम्रो रहेको बताए । त्यस्तै भारतबाट घुम्नका लागि नेपाल आएका यात्रु विभाकर कुमारले नेपालमा रेलबाट आउँदा छिटो भएको र घुम्न पनि रमाइलो भएको बताए ।
त्यस्तै अर्का भारतीय यात्रु बलरामकुमारले रेलको यात्रा धेरै राम्रो भएको र समयको पनि बचत भएको बताए। उनले पशुपति घुम्न आउन रेल सञ्चालनले धेरै सहज बनाएको र पशुपतिनाथ मन्दिर धेरै राम्रो लागेको बताए । त्यस्तै टिकट बिक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढिरहेको बताए । उनले रेल अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताए ।
उनले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताए । उनले यात्रुहरुले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज हुने प्रतिक्रिया दिइरहेको बताए । रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रो पटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो ।
३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो ।सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


