सप्तरी, ६ भदौ । सप्तरीको राजविराज नगरपालिका–२ बसपार्क अगाडिबाट आइतबार राति घर मूली सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले लाखौँ मूल्य बराबरको गरगहना र नगद चोरेर लगेको छ ।

स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ बराबरको गरगहना र नगद चोरी गरेर लगेको पीडित श्याम देवले बताए । चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा छ । चोरहरू घरको मुख्य गेटबाट हाम फालेर भित्र पसेको हुनसक्ने अनुमान छ ।

चोरहरूले दराजको दुई वटा लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पीडित श्याम देवले जानकारी दिए । देव घरमा एक्लै थिए । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाएपछि नजिकै रहेको भाइ प्रमोद देवलाई फोन गरेर बोलाएपछि चोरी भएको खुलेको हो ।

केही दिनअघि कान्छो छोराको विवाह भएको उनले बताए । विवाहकै लागि जोहो गरिएको नयाँ बुहारीको गहना, जेठी बुहारी र श्रीमतीको समेत गहना चोरले लगेको उनले बताएका छन् । पछिल्लो केही दिनयता राजविराजमा मानिस नभएको, एक्लै भएको मौका छोपेर चोरी गर्ने घटना बढिरहेको छ ।

राजविज–२ स्थित अमरदीप देव र पाण्डव सिंहको घरको ताल्चा फोरेर लत्ताकपडा, गरगहना, नगद चोरी भएको दुई साता नबित्दै पुनः राजदेवी चोकको प्रहरीको अगाडिबाटै चोरी हुनु दुःखद घटना भएको स्थानीयको भनाइ छ ।