सर्लाही, ६ भदौ । सर्लाहीमा भूमिहिनहरुलाई जग्गा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

जिल्लाको दुई पालिकाका करिब ५ हजार भूमिहीनलाई जग्गा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

सर्लाहीका ८ वटा पालिकामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सर्लाहीले काम गरिरहेको छ । पहिलो चरणमा लालबन्दी र वाग्मती नगरपालिकाका करिब ५ हजार भूमिहीनलाई जग्गा वितरणको तयारी थालेको हो ।

आयोगले जिल्लाको वाग्मती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा, हरिपुर, कविलासी नगरपालिका र चन्द्रनगर गाउँपालिकासँग सम्झौता गरी काम गरिरहेको छ ।

पहिलो चरणमा वाग्मती नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ४ हजार ३ सय ७८ जनालाई ८ हजार ७ सय ५७ कित्ता जग्गा नापजाँच गरी वितरणको अन्तिम तयारीमा रहेको आयोगले जनाएको छ । वाग्मतीमा भूमिहीनहरूका लागि १० धुरदेखि १ कट्ठासम्मको घडेरी र ५ कट्ठा खेतीयोग्य जग्गा प्रदान गरिनेछ ।

यस्तै लालबन्दी नगरपालिकामा ३ सय ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई प्रतिव्यक्ति करिब १ कट्ठाका दरले वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता मदनबहादुर विश्वकर्माले जानकारी दिए ।