जनकपुरधाम, ६ भदौ । धनुषा, मोरङ, उदयपुर र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीबाट १ बिलो ५ सय ग्राम गाँजा र ६८ हजार ९६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरी टोलीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उता, मोरङको लेटाङ नगरपालिका–३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३५० ट्याब्लेट र स्पासपेन ९६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जना छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो ।

उदयपुरको चौदण्डी गढी नगरपालिका–३ स्कुलबारीबाट करिब १ किलो गाँजासहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट १ किलो चरेस सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही गाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेस फेला पारी उनलाई पक्राउ गरेको हो ।