काठमाडौं, ५ भदौ । अवैध रूपमा ल्याएको करिब एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शङ्का लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएको थियो ।

त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा लगी शौच गराउने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेपछि पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।