जनकपुरधाम, ४ भदौ । मानव तस्करीको आरोपमा भारतीय प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अमर पंजियार र परिचय खुल्न नसकेको अर्का एकजना रहेका छन् ।

उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ ४८औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरुले जटही बोर्डरबाट पक्राउ गरेका छन् ।

बा.२१ च ७१२८ नम्बरको चारपाङग्रे गाडीमा सवार भई ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा पक्राउ गरिएको र नाबालिकलाई हरलाखी थाना प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरुले ती बालिकालाई काम गराउनका लागि बाँसोपट्टीबाट आफ्नो घर लगिरहेको चाइल्डलाइन सबसेन्टर जयनगरकी सबिता देवीले बताइन् । उनले ती बालिकाले आफूलाई बँधुवा मजदुरीका लागि उनीहरुले भारतबाट नेपालतर्फ लगिरहेको कुरा जानकारी दिएको बताइन् । उनले यो मानव तस्करीको मामिला रहेको दाबी गरिन् ।

नाबालिकसँग काम गराउनु दण्डनीय अपराध रहेकोले उनीहरुलाई सोही कानूनको अधिनमा रहि पक्राउ गरिएको र थप कारबाहीका लागि भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ ।

उनीहरुले पीडितलाई कामको प्रलोभनमा पारेर नेपाल ल्याउन लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।