काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका हुन् । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनको चेतावनी थियो ।

अध्यक्ष नेपालले हामीलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्तालाई सक्रिय हुन आग्रहसमेत गरे । उनले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोर्होयाए ।

अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताए ।

उनले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गरे ।

अध्यक्ष नेपालले भने, ‘केपी ओलीका खुट्टा टाँसीटाँसी हिँड्ने पनि होइन । हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरूप्रति माया, दया गरेर बस्ने पनि होइन । अहिले पनि मसँग खवर आइरहेका छन्–केपी ओलीसँग बस्न सकिँदैन भन्दै कतिपय मानिसले सम्पर्क गरिरहेका छन् । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन् । त्यसो हुनाले एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन, जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन, जसले हामीलाई अपराधी घोषणा गरेको छ, जसले हामीले देशद्रोही भनेको छ, त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा विग्रन्छ म क्लियर गर्न चाहन्छु ।’

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाइको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गरे । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उनको भनाइ थियो ।