काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसले आसन्न आम निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

आगामी भदौ १० देखि २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गरिने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।

यस अभियानमा ७७ जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिने प्रवक्ता महतले बताए । यसबारे प्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखिएको उनको भनाई थियो । उनले यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने र जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुने जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ ।’ केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा ५ दिनसम्म कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

महतले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गरिने पनि बताए ।