काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

उनको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । साउन दोस्रो साता गिरीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरीलाई उपचारका लागि भारतको मुम्बई लगिएको थियो । करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि उनलाई यही साउनमा स्वदेश ल्याइएको थियो ।

नेपाल आएपछि उनलाई निमोनिया पनि देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर फर्किएका नेता विमलेन्द्र निधिले उनको अवस्था देखेर आफू स्तब्ध भएको बताए । उनले गिरीको स्वास्थ्य लाभका लागि ईश्वरीय चमत्कारको प्रार्थना गरेको पनि ट्विटरमा उल्लेख गरेका छन् ।

’आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदिप गिरीलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु–सबैले प्रार्थना गरौं’ उनले भने ।