जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, ९ जना पक्राउ

जनकपुरधाम, ३ भदौ । जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको छ ।
जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो ।
कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन् ।

नगर प्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । सोही क्रममा भनाभन भई झडप भएको थियो ।नगर प्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको बताइएको छ ।
झडप भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगेका छन् ।

यसअघि जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरप्रमुखविरूद्ध विरोध प्रदर्शन गर्नुका साथै बिहीबार उपमहानगरको कार्यालय समेत घेराउ गरेका थिए ।
फुटपाथ खाली गरेको हप्तौं बितेपनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ । साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आए पनि आफूहरूको समस्याप्रति नगरप्रमुख मनोजकुमार साह गम्भीर नबनेको उनीहरूको आरोप छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


