माओवादीसँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट सुरु हुने बताए । उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयाममा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए ।
डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए । उनले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताए ।
उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताए ।
उनले यी तीन कमिटीले छानेका एक महिलासहितका चार जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनासहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउने बताए ।
उनले केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


