जनमत पार्टीले आगामी निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगर्ने

जनकपुरधाम, १ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन् ।
जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताए । उनले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै अध्यक्ष राउतले केही सिटमा भने तालमेल हुन सक्ने जनाए ।
उनले भने, ‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनाँै,’ उनले भने, ‘केही सिटमा तालमेलको सम्भव छ, कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं । र कुनै क्षेत्रमा पनि तालमेलको हिसाबले मिलेर उम्मेदवारी दिइन सकिनेछ ।’
जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा उम्मेदवारी दिने बताउँदै उनले पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
त्यस्तै जनमत पार्टी धनुषा जिल्ला इन्चार्ज बीपी साहले मधेश केन्द्रीत शक्तिहरूबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए । प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेको थियो ।

