जनकपुरधाम, १ भदौ । महोत्तरीको जलेश्वरकी निहारिका राजपुतमाथि बलात्कार गरेको आरोप लागेका धनुषाका शिवराज श्रेष्ठलाई थुनामा राख्ने अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा अनुसन्धान गर्नका लागि श्रेष्ठलाई थुनामा राख्न ५ दिनको म्याद दिएको हो ।

मंगलबार साँझ निहारिका प्रकरणमा सोधपुछका लागि पुग्दा प्रहरीमाथी नै दुव्र्यवहार गरेको भन्दै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

निहारिका प्रकरणमा सोधपुछका लागि प्रहरीको टोली उनको घर पुगेको बेला शिवराजले उल्टै प्रहरीलाई गालीगलौज गर्न थालेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

न्याय नपाएसम्म अनशन नतोड्ने निहारिकाको अडानपछि गृह मन्त्रालयको दवाबमा शिवराजलाई पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ । आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले पहिले नै सफाइ दिइसकेको छ भने अहिले सो मुद्दा उच्च अदालत जनकपुरमा छ । उच्च अदालतमा निहारिका प्रकरणको पेशी भदौ ५ गतेका लागि तोकिएको छ ।

निहारिकाले गत शुक्रबार राष्ट्रपति कार्यालय अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको छ ।कानुनमन्त्री गोविन्द बन्दी स्वयं अस्पताल पुगेर निहारिकासँग भेट गरेका थिए । मन्त्री बन्दीले अनशन तोड्न आग्रह गरेपनि निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान लिएकी थिइन् ।

निहारिकाले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २०७८ माघ २४ गते बलात्कारको दाबी नपुगेको भन्दै श्रेष्ठलाई सफाइ दिएका थिए ।

उनको सोही आदेशका कारण अहिले उनलाई सर्वोच्च अदालतले तानेको छ । न्यायाधिश भट्टराईमाथी सोही फैसलाका कारण न्यायपरिषदले उनीमाथी छानबिन समेत सुरु गरिसकेको छ ।