चुरे अभियानीको अनसन स्थगित, बुधबारदेखि तेस्रो चरणको आन्दोलन गर्दै

जनकपुरधाम, ३१ साउन । जनकपुरधाममा विगत २८ दिनदेखि अनसनमा बस्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले मंगलबारदेखि रिले अनसन स्थगित गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षणको माग गर्दै जनकपुरधामस्थित जनकचोकमा रिले अनसनमा बस्दै आएका अभियानीहरुले बुधबारदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गर्दै अनसन स्थगित गरेका हुन् ।
विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रम, रिले अनसन र आमरण अनसन गर्दासमेत चुरेको विनाश नरोकिएको भन्दै अभियानीहरुले भोलिदेखि हुने तेस्रो चरणको आन्दोलनमा थप बल पुर्याउने उद्देश्यले आजदेखि रिले अनसन स्थगित गरिएको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए ।
यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चौकमा गरेको रिले अनसन र आमरण अनसनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गरि अनसन स्थगित गरेको बताए ।
संयोजक यादवले अभियानले भदौ १ गते मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकारविरुद्ध विरोध प्रर्दशन तथा कोण सभा गर्ने, भदौ ९ गते मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिए ।
विगत २८ दिनदेखि रिले अनसन तथा विभिन्न दवाबमूलक कार्यक्रमहरु गरेपनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट कुनै पनि सुनवाई नभएकोले बाध्य भएर तेस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक यादवले बताए ।
भूमि अधिकारबाट वञ्चित रहेका तराई मधेशका दलित, भुमिहीन, सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुको तथ्यांक संकलनको कामसमेत आफूहरुले जारी राखेको र अहिलेसम्म धनुषा र सिरहाका केही पालिकाहरुबाट करिव ५ हजारको संख्यामा उनीहरु सम्पर्कमा आएको यादवले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


