काठमाडौं, ३१ साउन । पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुईवटा सहमति गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले दुईवटा निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक र राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा निर्णय भएको हो ।

गठबन्धनको बैठकले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रक्रियाअनुसार तत्काल संसदमा अगाडि बढाउने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

’राष्ट्रपतिज्युलाई रहेको संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसदले पुनः विचार गरेर प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको उक्त विधेयकलाई संसदमा तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ उनले भने ।

त्यस्तै, बैठकले शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

’टिआरसी विधेयकका सम्बन्धमा बृहत रूपमा छलफल गरी यससँग प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा संलग्न रहेका सरोकारवाला मानवअधिकारकर्मी तथा पीडितलगायत व्यक्ति तथा संघसंस्थाहरूसँग परामर्श गरेर उनीहरूले दिएका सरसलाह र सुझावलाई गहन रूपमा लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन टिआरसी विधेयकलाई अगाडि बढाउने निर्णय भएको छ’ उनले भने ।

शान्ति तथा मेलमिलापसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि उनले बताए । टिआरसीकासम्बन्धमा कानुनमन्त्रीले केही दिनदेखि गहन रूपले सबै पक्षसँग छलफल पनि गरिरहेको उनले बताए ।