आगामी निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरू

काठमाडौं, ३० साउन । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरू भएको छ ।
सोमबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो ।
चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि बताए ।
केन्द्रीय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौति र त्यसलाई सामना गर्ने उपायहरुको बारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताए ।
बैठकमा गहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


