जनकपुरधाम, ३० साउन । धनुषामा नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधेयक संसदमा फिर्ता पठाएको भन्दै उनीविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

नगरिकता विधेयक बारे राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले सोमबार बिहान धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेका छन् ।

नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका छन् । केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए ।

प्रदर्शमा नागरिकता पीडितहरुको पनि उपस्थिती रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

यता, लोकतान्त्रिक समाजवादी पार्टीले पनि आज दिउँसो ४ बजे मधेस प्रदेशका सबै जिल्लाका सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, जसपाले पनि साँझ ६ बजे जनकचोकमा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

दुबै सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले आइतबार साँझ संसदमा फिर्ता पठाएकी हुन् ।