जनकपुरधाम, ३० साउन । सानै उमेरमा विवाह गर्दा प्रजनन सँगै सामाजिक र मानसिक स्वास्थ्यमा असर परिरहेको भन्दै त्यसलाई हटाउन बाल विवाह रोक्ने प्रयासमा नेपाल सरकार लागि परेको छ । विभिन्न पालिकाहरुले त ‘बिहेबारी, २० बर्ष पारी’ भन्ने अभियान नै सञ्चालन गरेर बाल विवाह न्यूनिकरण गर्ने नीति कार्यक्रमसमेत ल्याएका छन् । तर, मधेस प्रदेशमा भने यसले सार्थकता पाउन सकेको छैन ।

यस प्रदेशमा २० बर्षभन्दा कम उमेरमै बच्चा जन्माउने महिलाको संख्या अत्यधिक रहेको तथ्यांकले देखाउँछ । प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार यस प्रदेशमा प्रसूति गराउन आउनेमध्ये ३२ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आर्थिक बर्ष ०७८/७९ मा ७८ हजार १७५ जना महिला आमा बनेका छन् । जसमध्ये २५ हजार २१५ जना २० बर्षभन्दा कम उमेरका छन् ।

३२ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको निर्देशनालयको रेकर्डमा समाविष्ट गरिएको छ । आर्थिक बर्ष ०७८/७९ मा सप्तरीका विभिन्न स्वास्थ्य संस्थाहरुमा ८ हजार १९२ जना महिला आमा बनेका छन् । जसमध्ये १ हजार ४१५ जना अर्थात १७ प्रतिशत किशोरी २० बर्षभन्दा कम उमेरका छन् ।

त्यस्तै, सिरहामा ९ हजार ६२० महिला आमा बनेकोमा २ हजार २२२ जना अर्थात २३ प्रतिशत किशोरी २० बर्षभन्दा कम उमेरका छन् । धनुषाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गत एक बर्षमा ११ हजार १२२ महिला आमा बनेकोमा २ हजार ९५८ जना (२६ प्रतिशत) २० बर्षभन्दा कम उमेरको रहेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोजकुमार यादवले जानकारी दिए ।

महोत्तरीमा ४ हजार ८४९ महिला आमा बनेकी छन् । जसमध्ये ३ हजार २८७ जना अर्थात ६७ प्रतिशत किशोरीले २० बर्षभन्दा कम उमेरमै बच्चा जन्माएकी छन् । मधेस प्रदेशको सर्लाही जिल्लामा १० हजार १६१ जना महिलाले बच्चा जन्माएकोमा ३ हजार ८१७ जना अर्थात ३७ प्रतिशत किशोरी २० बर्षभन्दा कम उमेरमै आमा बनेकी छन् ।

रौतहट जिल्लामा गत बर्ष ११ हजार ८४४ महिलाले बच्चालाई जन्म दिएकोमा ३ हजार ५४ जना (२७.७८ प्रतिशत) २० बर्षभन्दा कम उमेरका छन् । त्यस्तै, बारामा ७ हजार ६१० महिलाले बच्चा जन्माएकी छन् । जसमध्ये २ हजार ३५६ जना अर्थात ३०.९५ प्रतिशत किशोरी २० बर्षभन्दा कम उमेरमै आमा बनेकी छन् ।

उता, पर्सा जिल्लामा भने गत आर्थिक बर्ष ०७८/७९ मा १४ हजार ७७७ जना महिलाले बच्चालाई जन्म दिएकोमा ६ हजार १०६ जना अर्थात ४१ प्रतिशत किशोरी २० बर्षभन्दा कम उमेरका छन् ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकीलगायत कारणले बालविवाह कम हुन नसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले दाबी गरेका छन् ।

२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको हुनसक्ने झाको अनुमान छ ।