जनकपुरधाम, ३० साउन । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थलहरुमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । धार्मिक नगरि जनकपुरधामस्थित गंगासागरमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको छ ।

भगवान शिवको व्रत बसेका भक्तजनहरु बिहानैदेखि यहाँका विभिन्न शिवालयहरुमा जाने/आउने गर्न थालेका हुन् ।

साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागिता देखिएको छ ।अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर पुगेका छन् ।