जनकपुरधाम, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले प्रदेश सरकारको आन्दोलनलाई औचित्यहीनको संज्ञा दिएका छन् ।

प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सुरु गरेको आन्दोलनको कुनै औचित्य नरहेको उनले बताएका हुन् ।

मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष सोनलले जनकपुरधाममा नभई काठमाडौंमा गएर धर्ना प्रदर्शन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । उनले जनकपुरधाममा धर्ना बसेर केन्द्र सरकारमाथि कुनै प्रकारको दबाव दिन नसकिने दाबी गरेका छन् ।

लोसपाका संसदीय दलका नेता सोनलले सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए । यहाँ आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीलाई केन्द्र सरकारको विरुद्धमा आन्दोलन गर्नुपर्छ । प्रदेशमा आन्दोलन गरेर केही हुँदैन् । प्रदेशमा जति दल सरकारमा छन्, ती सबै दलहरु केन्द्रीय सरकारमा पनि छन् । त्यसैले उनको साथमा गएर आन्दोलन गर्नुपर्छ । प्रदेशमा आन्दोलन गरेर केही मिल्दैन् ।’

केन्द्र सरकारमाथि दबाव बनाउन काठमाडौं केन्द्रीत आन्दोलन गरिए त्यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्ने उनले बताए ।

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि एक हप्ते धर्ना सुरु गरेका छन् ।