पर्सा, २९ साउन । पर्सा प्रहरीले बहिनीको प्रेमीको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर–५ का ३० वर्षीय प्रितम पटेल र उनका २८ वर्षीय भाइ उत्तम पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पु¥याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए । त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेको प्रहरीको दाबी छ ।