जनकपुरधाम, २९ साउन । चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनसनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानीले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

चुरे तथा वनजंगलको संरक्षणको माग गर्दै विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रमदेखि रिले अनसनदेखि आमरण अनसनसम्म गर्दासमेत चुरेको विनाश नरोकिएको भन्दै अभियानले पुनः आन्दोलनको घोषणा गरेको हो ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी अभियानले आन्दोलनको घोषणा गरेको छ ।

अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले विगतमा विभिन्न प्रकारको आन्दोलन तथा जनकपुरधामको जनक चौकमा गरेको रिले अनसन र आमरण अनसनपछि ७ बुँदे सहमति हुँदा पनि माग पुरा नभएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको बताए ।

विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दवाब मुलक कार्यक्रमहरु गरेपनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट कुनै पनि सुनवाई नभएकोले बाध्य भएर तेस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक यादवले बताए ।

अभियानले भदौ १ गते मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकार विरुद्ध विरोध प्रर्दशन तथा कोण सभा गर्ने, भदौ ९ गते मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्वन्धमा छानविन गर्न मधेस प्रदेश सरकारले अभियानसँग २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गास वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानिय सरकारद्धारा उठीबास लगाउने कार्य वन्द गर्नुपर्नेलगायतका मागसहित विगतदेखि नै पटक पटक आन्दोलन गर्दै आएका छन् ।

संयोजक यादवले घोषित आन्दोलनको कार्यक्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी तीन तहको सरकारले लिनुपर्ने समेत बताएका छन् ।