जनकपुरधाम, २९ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको आठौं दिनमा तमलोपा आयोगमा दर्ता भएको हो ।

पार्टीका केन्द्रीय सदस्य रविशंकर कुमार कर्ण दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

प्रतिनिधिसभाका लागि तमलोपाको मुल दर्ता नम्बर ७२३ र दल दर्ता नम्बर १७५ रहेको छ ।

तमलोपाले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो पार्टीले महोत्तरीमा एक स्थानीय तह र वडा जितेको थियो ।

दल दर्ता गराउने तमलोपा ४५ औं पार्टी भएको छ ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ ।