काठमाडौं, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा चुनाव जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् ।

नेपाल युवा परिषद्ले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा उनले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको भनाइ छ ।

उनले सबै नेपाली मतदाताले जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । निर्वाचन आयोग र राजनीतिक दलहरूबीच सैद्धान्तिक विषयमा कुरा मिले पनि जटिलता भएको ओलीको भनाइ छ ।

फरक प्रशंगमा ओलीले बजेट निर्माणका बेला व्यापारीले करका दर परिवर्तन गर्दा आफ्नो मन पालेको बताए । सरकारबाट जनताले केही लाभ लिन नपाएको तर नपाउनुपर्नेले फाइदा लिएको उनको भनाइ छ । आफू प्रधानमन्त्री हुँदा राष्ट्रको ढुकुटीमा पैसाको खाँचो नभएको तर अहिलेको सरकारले जे काम गर्न पनि पैसा छैन भन्ने गरेको ओलीले बताए । सरकारमा अलच्छिन पसेको ओलीको टिप्पणी छ ।

उनले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै ओलीले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।

‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पती सरकारको नाममा गरिदिएका छौं । तपाईँहरूलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन ।अब तपाईहरुले उपचार गराइदिनुभयो भने छुट्टै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन,’ उनले भने ।

आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेती किसानी गरेर बसिरहेको पनि बताए । ओलीले अहिलेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समस्याको रुपमा चित्रित गर्नु गलत भएको टिप्पणी पनि गरे ।