काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘कुमारी आमा’ भनेर चिनिने निहारिका राजपुतसँग भेटेका छन् ।

शनिबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर मेयर शाहले राजपुतलाई भेटेका हुन् ।

निहारिकासँग भेटपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले कुनै आमाले आफ्नो सन्तानको डिएनए टेस्ट गरिदेऊ भन्दा आत्मदाह गर्नुपर्ने अवस्था आउनु अत्ति भएको भन्दै आपत्ति जनाएका छन् । उनले निहारिकाको माग सामान्य रहेको र सरकार अभिभावक भएका कारण उनको उक्त माग पूरा गर्नुपर्ने धारणा राखेका छन् ।

‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन’ उनले भनेका छन् ।

निहारिकाले आफ्नो माग पूरा नभएको भन्दै शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीले उनको प्रयासलाई असफल बनाएर अस्पताल पुर्याएका थिए । अहिले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर राखिएको छ ।