मधेस प्रदेशका ३९ स्थानीय तहले अझै पेश गरेनन् बजेट, सबैभन्दा बढि रौतहटका ९ पालिका

जनकपुरधाम, २८ साउन । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनाको चार हप्ता बितिसक्दा पनि मधेस प्रदेशका ३९ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैनन् ।
गत आर्थिक बर्षको अन्तिम महिना असारको १० गतेभित्र सार्बजनिक गर्नुपर्ने बजेट मधेस प्रदेशका ३९ स्थानीय तहले अझै सार्बजनिक नगरेको पाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६९० स्थानीय तहले मात्र हालसम्म बजेट पेश गरेका छन् ।
बजेट पेश नगरेका ६३ स्थानीय तह मध्ये मधेस प्रदेशका ३९ स्थानीय तहहरु रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
मधेस प्रदेशका कुल १३६ स्थानीय तह मध्ये ९७ स्थानीय तहले मात्र बजेट पेश गरेको पाइएको छ । यस प्रदेशमा बजेट पेश गर्ने स्थानीय तह ७१ दशमलव ३ प्रतिशत रहेका छन् । यस प्रदेशका २८ दशमलव ७ प्रतिशत स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।
बजेट पेश गर्न नसकेका प्रदेशका ३९ स्थानीय तह मध्ये सबैभन्दा बढि रौतहटका ९ र सबैभन्दा कम महोत्तरीका एउटा पालिका छन् ।
त्यस्तै, सप्तरीका ५, सिरहाका ६, धनुषाका ५, सर्लाहीका ३, बाराका ५ र पर्साका ५ वटा पालिकाहरुले बजेट ल्याउन सकेका छैनन् ।सप्तरीको १८ पालिका मध्ये कञ्चनरुप नगरपालिका, बोदेबरसाईन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बिष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिकासहित ५ वटा पालिकाले बजेट प्रविष्ट गरेका छैनन् ।
त्यस्तै, सिरहाका १७ मध्ये ६ पालिकाले बजेट ल्याएका छैनन् । जिल्लाको मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकाले बजेट पेश गर्न सकेका छैनन् ।
यता, धनुषाका १८ स्थानीय तह मध्ये धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकासहित ५ वटा पालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् ।
महोत्तरीका १५ स्थानीय तह मध्ये सोनमा गाउँपालिकाले मात्र बजेट ल्याउन सकेको छैन् भने अन्य १४ स्थानीय तहले बजेट प्रविष्ट गरिसकेका छन् ।
त्यस्तै, सर्लाहीको २० स्थानीय तह मध्ये मलंगवा नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले बजेट ल्याउन बाँकी रहेको छ ।
रौतहटका ५० प्रतिशत स्थानीय तहहरुले बजेट ल्याउन सकेका छैनन् । जिल्लाका १८ स्थानीय तह मध्ये ९ स्थानीय तहले बजेट प्रविष्ट गरेका छैनन् । बजेट नल्याउने पालिकाहरुमा ईशनाथ नगरपालिका, कटहरिया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका छन् ।
बारा जिल्लाका १६ पालिका मध्ये ५ पालिकाले बजेट ल्याउन सकेका छैनन् । जिल्लाका महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका र प्रसौनी गाउँपालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् ।
त्यस्तै, पर्साका १४ स्थानीय तहमध्ये पोखरिया नगरपालिका, धोबीनी गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित ५ वटा पालिकाहरुले बजेट ल्याएका छैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


