अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २७ साउन । प्रहरीले मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय सञ्जय लिम्बुलाई गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट करिब १ केजी ७२० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मोरङकै पथरी शनिश्चरे नगरपालिका–३ मगरटोलबाट करिब ५७५ ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुनिल परियार र सोही नगरपालिका–३ बस्ने ३८ वर्षीय कोपिला मगर रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सुनिलको साथबाट ५० ग्राम तथा कोपिलाको साथबाट ५२५ ग्राम गाँजा, नगद १२ हजार रूपैयाँ र एक थान डिजिटल तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब १ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका–२ बस्ने ३४ वर्षीय नबिन थापा मगर लगायत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिरहाको सुखीपुर नगरपालिका–८ महदेवाटोलबाट करिब ६ सय ग्राम गाँजा र नगद २९ हजार ३०५ रुपैयाँसहित सोही ठाउँ बस्ने ६८ वर्षीय ढोढाई चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाकै लहान नगरपालिका–२३ बाट करिब ५ सय ग्राम गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय साधु महतो लगायत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


