काठमाडौं, २७ साउन । सप्तरी, पाल्पा र ताप्लेजुङमा पोखरीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साईन नगरपालिका–८ काचनस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ६ वर्षीय नन्दनी कुमारी दासको मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको शत्रुधन अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ साउनेस्थित डमराई पोखरीमा डुबेर सोही ठाउँ मामाघर आएका गुल्मी छत्रकोट गाउँपालिका–३ चोयघा घर भएका १४ वर्षीय मनोज रेग्मीको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय रोशन तामाङको मृत्यु भएको छ ।