जनकपुरधाम, २६ साउन । जिल्ला प्रहरी कार्यालय महोत्तरीले छुट्टाछुट्टै दुई घटनाका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

श्रीमती र सासुलाई आगो लगाई ज्यान मार्ने उद्योग गरी फरार र ज्यान सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका हुन् ।

श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेको आरोपमा एकजना र युवकको हत्या गरेको आरोपमा ५ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

गत साउन २१ गते राति ३५ वर्षीया श्रीमती प्रमिला देवी सदा र ६५ वर्षीया सासु रेशमादेवी सदाको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको हो ।

शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सम्सी–कन्हवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवन सखुवा टोलस्थित माइतीमा रहेको बेला साउन २१ गते राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।

घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका थिए ।

घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ ।

पक्राउ परेका शंकरबिरुद्ध ज्यान मार्ने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

त्यस्तै, १८ वर्षीय युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ घर भइ जनकपुरधाम उपमहानगरपालिका–७ मा डेरा लिई बस्दै आएका ३२ वर्षीय जितकुमार यादव, २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम–४ घर भई वडा नम्बर–७ मा डेरा लिई बस्दै आएका २५ वर्षीय सन्तोष कुमार, औरही गाउँपालिका–२ पौडेश्वर घर भई क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरमा डेरा लिई बस्दै आएका २१ वर्षीय किरण भन्ने प्रमिला महरा र २७ वर्षीय बिगुल मुखिया विन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले एक वर्षअघि बिगुल, प्रमिला र कृष्ण यादवले अर्जुनको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका गहना चोरी गरेका थिए ।

त्यसकोे जानकारी पाएलगत्तै अर्जुनकी आमाले किरण र कृष्णलाई प्रहरीमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी चोरी गरेको सामानको रकम तिर्ने भन्दै बिगुलले १ लाख १७ हजार तथा कृष्णले २ लाख ४६ हजार रुपैयाँको तमसुक बनाए । तमसुक बनाएपछि उनीहरु सम्पर्कविहीन बनेका थिए ।

अर्जुनको हत्या हुनुभन्दा २० दिन अगाडि साउन १ गते मृतक अर्जुनकी आमाले उनीहरुलाई जनकपुरधाममै फेला पारी तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाइन् । त्यही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र पैसा तिर्ने कबुल गरेको तमसुक समेत लुटने योजना बनाएको देखिएको डीएसपी बिष्टले जानकारी दिए ।

कृष्ण यादवले पूर्व योजना बमोजिम आफ्नो दाजु जितकुमार र सन्तोष कुमारलाई अर्जुनलाई मारेमा ३० हजार रुपैयाँ दिने आश्वासन दिए । यस सम्बन्धमा बिगुल र प्रमिलासँग समेत आफ्नो सल्लाह भएको उनले दुबैलाई सुनाए ।

२० साउनको बिहान जितकुमारले अजय भनिने अर्जुनलाई फोन गरी लोहारपट्टीको फुलबरिया गाउँमा बोलाए । ‘अर्जुनले चलाउँदै आएको सिटी रिक्सा रिजर्भ गर्ने भन्दै १ हजार रुपैयाँ भाडा तिर्ने शर्तमा उनलाई बोलाएको देखिन्छ’ डीएसपी बिष्टले भने, ‘अर्जुन पुगेपछि दुबैले लोहारपट्टी जाने भित्री सडक खण्डमा लगेर घाँटीमा पासो लगाएर सिटी रिक्साभित्रै हत्या गरेका रहेछन् ।’

हत्या गरी अर्जुनको शवलाई सडकदेखि पश्चिमपट्टीको नहरमा फाली सिटी रिक्सालाई जितकुमारले चलाएर सन्तोष समेत बसी जनकपुरधाम–७ मुसहरु टोलस्थित माँ जानकी सप्लायर्समा छाडेर फरार भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

डीएसपी बिष्टले पक्राउ परेका पाँचै जनाबिरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

असार २० गतेदेखि जनकपुरधाम–७ बाट बेपत्ता भएका १८ वर्षीय अजय भन्ने अर्जुन साहको शव २३ असारमा महोत्तरीको लोहारपट्टी–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा फेला परेको थियो ।