विराटनगर, २६ साउन । कोसी कोभिड अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन् ।

कोभिड संक्रमण भएर उपचारका लागि भर्ना भएका विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पतालबाट भागेका हुन् ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ ।

बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए ।

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो। फैसलापछि उनी फरार थिए ।लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्ताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले बताए ।