जनकपुरधाम, २६ साउन । आगामी भदौ ६ गते स्विट्जरल्यान्ड भ्रमणमा जाने भनिएको मधेस प्रदेश सरकारको जम्बो टोलीको भ्रमण रद्द भएको छ ।

केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकबाट भ्रमणबारे निर्णय नगर्दा प्रदेश सरकारको टोलीको भ्रमण रद्द भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली भदौ ६ गते स्विट्जरल्यान्ड भ्रमणमा जाने तयारी गरेको थियो । यससम्बन्धमा मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्राविधिक कारणले भ्रमण रद्द भएको जानकारी दिएका छन् ।

उनले भने, ‘दुई/तीन वटा कारणहरु छन्, जसका कारण भ्रमण रद्द भएको छ । केन्द्र सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्न ढिलाइ गरेको र चुनावको मिति पनि घोषणा भएकोले भ्रमण रद्द भएको छ ।’

गत असार ३१ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्विट्जरल्यान्ड भ्रमणमा जाने निर्णय गरेको थियो । त्यसपछि प्रदेश सरकारको टिम रातो पासपोर्ट र भिसा आवेदनका लागि साउन पहिलो साता काठमाडौं पुगेको थियो ।

मधेस सरकारले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावअघि प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सोहीबेला मन्त्रिपरिषद्बाट भ्रमणबारे पनि निर्णय गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको थियो । तर, त्यो साता मन्त्रिपरिषद्को बैठक नबसेकाले निर्णय हुन नसकेको बताइएको छ ।

जेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्विट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन गर्न मधेस सरकारको टिम जाने तयारी गरेको थियो । बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो । टिकट खर्च प्रदेश सरकारले आफैँ बेहोर्ने गरी तयारी गरेको थियो ।

टोलीमा मुख्यमन्त्री राउतसँगै सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादवको नाम समावेश गरिएको थियो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादवलगायतको नामसमेत भ्रमण टोलीमा राखिएको थियो ।