पत्रकार महासंघ धनुषाले मनायो पण्डित सुन्दर झा शास्त्रीको २५औँ स्मृति दिवस

जनकपुरधाम, २५ साउन । नेपाल पत्रकार संघ धनुषाका संस्थापक अध्यक्ष पण्डित सुन्दर झा शास्त्रीको बुधबार २५औँ स्मृति दिवस मनाइएको छ ।
स्वर्गीय पत्रकार शास्त्रीले पत्रकारिता क्षेत्रमा पुर्याएको अतुलनिय योगदानलाई स्मरण गर्दै महासंघ धनुषा शाखाले उनको स्मृति दिवस मनाएको हो ।
स्वर्गीय पत्रकार शास्त्रीको स्मृति दिवसको अवसरमा उनको व्यक्तित्वको विषयमा वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
शास्त्री जस्तो प्रखर वक्ता र समालोचकको जनकपुरधाममा अहिले अभाव देखिएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झाले बताइन् । उनले उनको बिषयमा नयाँ पुस्ताका पत्रकारहरूले बुझ्नुपर्ने आवश्यकता रहेकोसमेत बताइन् ।

शास्त्रीले सम्पादन गर्दै आएका मैथिली भाषाको फूलपात पत्रिका मैथिलीको पहिलो पत्रिकाको रुपमा रहेको छ । उनी मैथिली, नेपाली, हिन्दी र अंग्रेजी भाषामा दखल राख्दथे । शास्त्रीले मैथिली भाषा तथा साहित्यमा समेत अतुलनीय योगदान पुर्याएका थिए ।
यसअघिको महासंघ धनुषाको कार्य समितिले नवनिर्मित भवनको माथिल्लो तल्लाको नाम सुन्दर झा शास्त्री सभाकक्ष नामाकरण गरेको थियो । निवर्तमान अध्यक्ष अनिल कुमार मिश्रले सभाहललाई सुन्दर झा शास्त्री सभाकक्ष नामाकरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेपछि सो सभाहलको नाम उनको नाममा नामाकरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले शास्त्रीको नाममा लेखनवृत्ति कोष स्थापना गर्ने घोषणा गरिन ।
झाको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष ज्योति झा, धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, उपाध्यक्षद्वय अवधेश कामत र नेहा झा, सह–सचिव गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह, प्रेस सेन्टरका मधेस प्रदेश अध्यक्ष किरण कर्ण, मधेसी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्णलगायतका पत्रकारहरूको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


