प्रतिष्ठानले आह्वान गरेको कर्मचारी भर्ना सम्बन्धी सूचना तत्कालै सच्याउन माग

जनकपुरधाम, २५ साउन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामले पछिल्लो समय कर्मचारी भर्ना सम्बन्धी आह्वान गरेको सूचना उपर दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।
बुधबार प्रतिष्ठानका उपकूलपति डा. रामकेवल साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले सो सूचना तत्कालै सच्याउन माग गरेका हुन् ।
ध्यानाकर्षण पत्रमा मधेस जनविद्रोह र मधेशी जनताको बलिदानीबाट देशमा स्थापित भएको संघीयताको प्रारुप बमोजिम प्रदेश लोकसेवा आयोगले प्रदेश सभाबाट पारित गराएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा समूहगत आरक्षणको स्पष्ट व्यवस्था भए पनि प्रदेश सरकारको अधिनमा रहेको यस प्रतिष्ठानले उक्त आरक्षण सम्बन्धीको व्यवस्थाको अपहेलना गरी कर्मचारी भर्ना सम्बन्धी सूचना आह्वान गर्नु मधेस आन्दोलन र शहिदहरुको सपनालाई अपमान गर्नु सरह रहेको जिकिर गरिएको छ ।
कर्मचारी भर्ना सम्बन्धीको पछिल्लो सूचनालाई रद्द गरी ३ दिन भित्र समूहगत आरक्षणको व्यवस्था गरी कर्मचारी भर्नाको बन्दोवस्त मिलाउनसमेत आग्रह गरिएको छ ।
आफूहरुको आग्रहलाई अस्वीकार गरिए अधिकारकर्मी, न्यायप्रेमी र सरोकारवालाहरु संघर्षको कार्यक्रम अगाडी बढाउन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
समाजवादी दलित मुक्ति संगठन मधेस प्रदेशका कार्यवाहक अध्यक्ष रामो महराको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन पुगेको टोलीमा संयुक्त दलित संघर्ष समिति मधेस प्रदेशका चन्देश्वर दास, राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रिय अध्यक्ष चन्देश्वर सदा, डोम समुदाय उत्थान नेपालका धनुषा जिल्ला अध्यक्ष सरोज मल्लिक डोम, नेपाल सरसफाइ कर्मचारी संघका अध्यक्ष इनद्रजित मेस्तर, दलित महिला संघ धनुषाकी सरस्वती मण्डललगायतकाहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


