जनकपुरधाम, २४ साउन । धनुषा प्रहरीले जनकपुरधामबाट प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम–१ बस्ने २४ वर्षीय प्रकाश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ स्थित रघुपती पार्टी प्यालेसको निर्माणाधिन अवस्थामा रहेको भान्सा कोठा नजिकै लागूऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको विशेष अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो ।

साहको जिन्स पाईन्टको बायाँ साईडको अगाडीको खल्तीबाट कालो प्लास्टिकको झोलामा बेरेर लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागूऔषध नाईट्रोभेट ३०० ट्याब्लेट र २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

सामानसहित साहलाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।