तराई मधेश लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा भाग लिने

जनकपुरधाम, २४ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा मंगलबार जनकपुरधाममा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
बैठकले आगामी निर्वाचनमा अन्य राजनीतिक दलहरुसँग सहकार्य, गठबन्धन लगायतका विषयमा सम्पर्क, छलफल तथा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्न वरिष्ठ नेता डा. विजयकुमार सिंहलाई अभिभारा दिने सर्वसम्मतिबाट निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले जानकारी दिए ।
मंगलबारको बैठकले नेपाल नागरिकता ऐन संशोधन गर्न पारित भएको विधेयकको शिघ्र प्रमाणिकरणकोसमेत माग गरेको छ ।
लामो छलफलपछि नेपाल नागरिकता ऐन संशोधन विधेयक संघीय संसदबाट पारित भइसकेपछि पनि त्यसको प्रमाणीकरणमा राष्ट्रपतिबाट भइरहेको अनावश्यक ढिलाईले चिन्ता उत्पन्न गरिरहेको तमलोपाले ठहर गरेको छ ।
संविधान बमोजिम नेपालको योग्य नागरिक भएर पनि नागरिकताको प्रमाणपत्रको अभावमा नागरिक अधिकारको उपभोग तथा रोजगार, व्यवसाय, स्वास्थोपचार, भ्रमण लगायतका कार्यहरु गर्न असमर्थ नागरिकहरुको दुःखको अन्त्य नभइरहेको अवस्थामा नागरिकता जस्तो संवेदनशील विषयमा यसरी भइरहेको अस्वभाविक ढिलाई उचित नभएको तथ्यप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै नागरिकता सम्बन्धी विधेयकको शिघ्र प्रमाणीकरणको मागसमेत गरेको छ ।
निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा क्रियाशील रहेको भन्दै तमलोपाले लोकतान्त्रिक अभ्यासको मान्य व्यवहार अनुसार लोकतान्त्रिक पद्धतिमा कुनै पनि निकाय निर्वाचनमा जाने बित्तिक्कै सो निकाय स्वतः निष्क्रिय अवस्थामा परिणत हुने जिकिर गरेको छ ।
निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रतिनिधिसभा र प्रदेशसभाहरू क्रियाशील रही रहनु हास्यास्पद, अस्वस्थ परम्पराको थालनी र लोकतान्त्रिक चुनावको मान्यताको विपरित रहेको पार्टी अध्यक्ष लालले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


