जनकपुर आर्ट एण्ड क्राफ्टद्वारा साउन महिनाको प्रत्येक सोमबार शिव मन्दिरमा निःशुल्क मेंहदी उत्सव

जनकपुरधाम, २४ साउन । यसवर्ष जनकपुरधामको शिवचोकस्थित शिव मन्दिरमा मेंहदी उत्सवको आयोजना गरिएको छ ।
जनकपुर आर्ट एण्ड क्राफ्टले साउन महिनाको पहिलो सोमबारका दिनदेखि नै आयोजना गरेको उत्सवमा निःशूल्क मेंहदी लगाउनेहरुको भीड लागेको देखिन्छ ।
प्रत्येक सोमबार बिहानदेखि साँझसम्म चल्ने उक्त मेहंदी उत्सवमा सयौं महिला तथा पुरुषहरुलाई निःशुल्क मेहंदी लगाइन्छ । साउन मसान्तभरि मेंहदी उत्सव मनाउने आयोजक संस्थाका संयोजक रजत कायस्थले बताए ।
साउन महिनामा विशेषगरी महिलाहरुले मेंहदी लगाउने परम्परा छ । यो महिना सुरु हुनेवितिकै महिलाहरुमा पनि एक प्रकारको उत्साह सुरु हुन्छ । हरियो र पहेंलो चुरा, त्यसै अनुसारको हरियो, पहेंलो र रातो रंगको पहिरन साथमा प्रत्येकको हत्केलामा मेंहदीले बनाइएका विभिन्न खालका बुट्टाहरु हुन्छन् ।
साउन महिनालाई हरियालीको प्रतिकका रूपमा लिने गरिन्छ र मेंहदी पनि हरियो जडीबुटीले बनेको औषधिय गुण भएको एक खालको श्रृङ्गारको सामग्री हो । यसले मिथिलाको कलालाई झल्काउनुका साथै प्रकृतिलाई जोगाउन र संस्कृतिलाई जोगाइ राख्न प्रोत्साहन गर्छ । त्यसैले साउन महिनाको अवसरमा जनकपुर आर्ट एण्ड क्राफ्टको आयोजनामा मिथिला चित्रकला समूहले साउन महिनामा साउन विशेष ‘प्रकृति मार्फत जानुहोस’ नाराका साथ निःशुल्क मेंहदी क्याम्पियन सम्पन गरेका छन् ।
साउनको सुरु महिनामा अधिकांश महिलाको हत्केला मेंहदीको रंगले रङ्गिने हुनाले साउने सोमवारलाई विशेष ध्यान दिई जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकको शिव मन्दिरमा पूजा गर्न आउने व्रतालुलाई मेंहदी लगाउने लक्ष्य लिई निःशुल्क मेहदी क्याम्प सञ्चालनमा ल्याइएको आयोजक संस्थाले जनाएको छ ।
महिला अधिकारकर्मी सुभद्रा आलेले भनिन्, ‘साउन महिनामा मेंहदी लगाउनुको बेग्लै आनन्द हुन्छ । आफूले आफैँलाई मेंहदी लगाउन गाह्रो हुन्छ तर कोही लगाइ दिने व्यक्ति भए मेंहदी लगाउनुको मज्जा नै बेग्लै हुन्छ, मेंहदी लगाउन कहीं कतै गइरहनु परेन । शिवजीको पूजासँगै मेंहदी पनि निःशुल्क लगाउन पाइने । साथमा मिथिला चित्रकला मेंहदी मार्फत हत्केलामा कोर्न पाउँदा झन खुसी लागेको छ ।’
त्यस्तै, डा. गायत्री झाले भनिन्, ‘आजकल मेंहदी लगाउन र पाउन छोडेका छन् त्यसैले मान्छेले बजारका केमिकल मिसावट मेंहदी लगाउन बाध्य भएका छन् । केमिकलयूक्त मेंहदी स्वास्थ्यका लागि हानिकारक हुनुका साथै रंग पनि सुहाउँदो हुँदैन र छिटो मेटिने हुन्छ । तर रुखबाट टिपेर बनाएको मेंहदीको वास्ना पनि मगमगाउँछ, स्वास्थ्यको लागि पनि राम्रो हुन्छ र त्यसको रंग पनि छिटो जाँदैन । त्यसैले रुखकै मेंहदी लगाउन सल्लाह दिन्छु ।’
यस मेंहदी क्याम्पियनमा बालबालिका तथा पुरुषहरु पनि सहभागी रहेको संयोजक कायस्थले जानकारी दिए ।
उनले भने, ‘श्रृङ्गारका रूपमा प्रयोग हुने मेंहदीको औषधिय महत्व पनि छ । र यसलाई शुभको प्रतिक पनि मानिन्छ । शुभ कार्यमा मेंहदीको प्रयोग बढी गरिन्छ । हाम्रो क्याम्पियनले प्रकृति र मिथिला कलालाई जोडेको छ । मेंहदी प्रकृतिको उपहार हो भने त्यसबाट बनाइने चित्र मिथिला कलाको आकृति हो । त्यसैले यसले प्रकृति र संस्कृतिलाई जोडेको छ ।’
साउनको अन्तिम सोमबारसम्म निःशुल्क मेंहदी लगाउने कार्यक्रम रहेको कायस्थले बताए ।
यस निःशुल्क मेहदी कम्पियनमा मिथिला चित्रकला समूहका काजल झा, उषा साह, सोनी साह, श्वेता ठाकुर, चाँदनी साह, हिमानी अभया मिश्र, प्रतिमा झा, प्रियम झा, काजल यादवलगायतकाहरु सहभागी छन् ।









तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


