जनकपुरधाम, २४ साउन । जनकपुरधाममा तीनदिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलिप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव फेला परेको हो ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साईडमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडा लगायतका अन्य सरसमान फेला परेका छन् ।

घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि शिव शिक्षण अस्पताल काठमाण्डौ पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

अर्जुन तीनदिन अघि आफ्ना ५/६ जना साथीसँग अटो रिक्सामा बसेर पिकनिक गएका थिए ।