आफू मन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको झाँक्रीको दाबी

काठमाडौं, २३ साउन । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको बताइन् ।
उनले आफ्नो कार्यकालमा सहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको बताइन् । झाँक्रीले सहरी विकास मन्त्री हुँदा विकास निर्माण सम्बन्धी महत्त्वपूर्ण नीतिहरू परिमार्जन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताइन् ।
उनले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताइन् । झाँक्रीले नीतिगत तहमा अनियमितता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि बताइन् ।
झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


