युवा नेता पाण्डेयद्वारा निशान छापको दुरूपयोग

जनकपुरधाम, २३ साउन । निशान भन्नाले चिन्ह भन्ने बुझिन्छ । निशान छाप भन्नाले कुनै वस्तुको पहिचानको लागि चिनोको रूपमा लगाइने छाप भन्ने बुझिन्छ । अर्थात् यसलाई परिचयात्मक चिन्ह भन्ने बुझिन्छ ।
तर, यसलाई नेपाल सरकार, व्यवस्थापिका र न्यायपालिका तथा तिनको मातहतका निकायहरूले मात्र आफूले पत्राचार गर्दा विशेष कागजको शीर्ष भागमा ठूलो आकारमा आफ्नो नाम उल्लेख गर्नुका साथै सो उल्लेखित नामको बायाँ किनारमा आफ्नो प्रतीक चिन्हको रूपमा निशान छाप अंकित गर्न सक्दछन् । यस चिन्हलाई कुनै व्यक्ति विशेषले भने प्रयोग गर्न सक्दैनन् ।
तर, महोत्तरीको पिपरा गाउँपालिकाका एक युवा नेता राहुल पाण्डेयले भने राष्ट्रको निशान छापको दुरुपयोग गरेको देखिएको छ । पाण्डेयले आज आफ्नो फेसबुकमा आफ्नो तस्बिरसहित श्रावण महिनाको चौथो सोमबारी पर्वको शुभकामना व्यक्त गर्दा राष्ट्रको निशान छापको प्रयोग गरेका हुन् ।
जबकी उनी नेपाल सरकार, व्यवस्थापिका, न्यायपालिका अथवा तिनको मातहतका निकायहरूमा कहिं कतै कार्यरत रहेका छ्रैनन् । उनकी पत्नी भने पिपरा गाउँपालिकाकी उपाध्यक्ष हुन् ।
नेपालको संविधान, २०७२ ले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य तोकेको छ । देशको निशान छाप भनेको राष्ट्रिय चिन्ह हो । तर, निशान छाप जस्तो आधारभूत विषयलाई नै खिल्ली उडाइएको पाइएको छ ।
नेपालको संविधान, २०७२ को भाग १ प्रारम्भिक धारा ९ उपधारा (२) ले निशान छाप अनुसूची–३ मा उल्लेख भए बमोजिम हुने व्यवस्था गरेको छ ।
यसअघि अन्तरिम संविधान, २०६३ को धारा ७ उपधारा (१) ले नेपालको राष्ट्रिय गान र निशाना छाप नेपाल सरकारले निर्धारण गरे बमोजिम हुने व्यवस्था गरेको थियो ।
त्यसअघिका संविधानहरू अर्थात् नेपाल अधिराज्यको संविधान, २०१५ वा नेपालको अन्तरिम संविधान, २००८ ले नेपाल राष्ट्रको निशान छापको विषयमा कुनै कुरा उल्लेख गरेको पाइँदैन ।

यससम्बन्धमा अधिवक्ता रेखा झाले भनिन्, ‘निशान छापको प्रयोगमा यस प्रकारको त्रुटी उचित होइन, असंवैधानिक हो । यस्तो किसिमको त्रुटीलाई सरकारी कागजात किर्ते गरेको मान्न सकिन्छ । संविधानको पालनामा यस्तो त्रुटी अक्षम्य छ ।’
यता, युवा नेता पाण्डेयले आफूलाई यससम्बन्धमा जानकारी नरहेकोले बुझेर मात्र केही भन्न सक्ने प्रतिक्रिया दिएका छन् ।
उनले सञ्चारकर्मीको प्रश्नमा पन्छिदै भने, ‘निशान छापको प्रयोग गरेर बनाइएको शुभकामना सन्देशको पोष्टर बारे मलाई कुनै जानकारी छैन् । कुनै साथीले बनाएर मलाई पठाएको हुनसक्छ । म बुझेर भन्छु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


