काठमाडौं, २२ साउन । काठमाडौंको बालाजु सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई हाल टोखा–३ बस्दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका–३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागुऔषध गाँजाको धुलो ५५१ ग्राम, बा६३प ९४६५ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले जनाएको छ ।