काठमाडौं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अझै राजनीतिक स्थायित्व कायम नभएकाले विदेशमा रहेका नेपाली अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् ।

जनप्रगतिशील जापानले टोकियोमा आयोजना गरेको अन्तर्क्रिरया कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘म तपाईंसमक्ष म इमान्दारपूर्वक भन्न चाहन्छु, तपाईंहरु अझै स्वदेश फर्कने बेला भएको छैन’, प्रचण्डले भने, ‘केही समय पर्खिनुहोस्, हामी राजनीतिक स्थायित्व कायम गर्नेतर्फ अग्रसर भएका छौँ, तपाईंहरुलाई स्वदेश फर्कने वातावरण मिलाउदै छौँ ।’