जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल

काठमाडौं, २२ साउन । संसदमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा गत २९ फागुनमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेस गरेको जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि छलफल भएको हो ।
गत १ फागुनमा प्रतिनिधिसभामा दर्ता भएको प्रस्तावमाथि छानबिन गर्न प्रतिनिधिसभाले २२ फागुनमा ११ सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । आइतबारको बैठकले समितिमा जबराविरुद्धको महाअभियोग प्रस्ताव पठाउने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
उक्त प्रस्ताव स्वीकृत गर्नुअघि आइतबार नै भएको छलफलमा सहभागी सांसदहरू महाअभियोग प्रस्तावको पक्ष र विपक्षमा विभाजित भएका छन् । तर, ढिलोगरी प्रस्तावमाथि छलफल गराइएकोमा भने सत्ता र प्रतिपक्षी दुवै पक्षका सांसदले असन्तुष्टि जनाएका थिए ।
सत्ता पक्षका सांसदले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदा प्रतिपक्षी दलका सांसदहरूले भने महाअभियोग प्रस्तावमाथि नै शंका उब्जाए । प्रतिशोधपूर्ण महाअभियोग प्रस्ताव आएको र मौजुदा संसद्को कार्यावधिभित्र महाअभियोग प्रस्तावलाई किनारा लगाउन नभ्याइने भन्दै प्रतिपक्षी दलका सांसदले शंका व्यक्त गरे ।
सत्तापक्षको निहित स्वार्थ पूरा गर्न महाभियोग ल्याएको भन्दै एमाले सांसद खगराज अधिकारीले चुनावको मिति घोषणा भइसकेको अवस्थामा महाअभियोग प्रस्तावमाथि छलफल गर्न मिल्ने वा नमिल्ने भन्दै प्रश्न उब्जाए । जबरालाई अभियुक्त र दोषी करार गरेर मुक्त गर्न खोजेको कि कुनै अभिष्ट पूरा गर्नका निम्ति महाअभियोग प्रस्ताव दर्ता गरेको अधिकारीको प्रश्न थियो ।
एमालेकै सांसद महेश बस्नेतले जबराको कार्यकाल सकिने गरी प्रस्तावमाथि छलफल चलाइएको आरोप लगाए । आउँदो मंसिरमा जबराको कार्यकाल सकिने उनको भनाइ थियो ।
एमालेकै अर्की सांसद निरुदेवी पालले जबराको बचाउ गर्दै कसैको करियर सक्ने काम गर्न नहुने बताइन् । आफ्नो दुई तिहाइ बहुमत नपुग्ने जान्दाजान्दै पनि सत्तापक्षले जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै उनले भनिन्, ‘जबरालाई महाभियोगको डण्डामार्फत उहाँको करिअर ड्यामेज गर्न खोजिएको हो ? विना गम्भीर कसुर कसैलाई ड्यामेज गर्ने काम कदापि राम्रो होइन ।’
एमालेकै सांसद भीम रावलले महाभियोग सिफारिस समितिले तथ्य सार्वजनिक भएपछि गहन छलफल गर्नुपर्ने बताए ।
छलफलमा भाग लिएका सत्तारुढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिए । उनीहरूले प्रतिपक्षी दल एमाले जबराको बचाउमा उत्रिएको आरोप पनि लगाए । माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले संसद्को कार्यावधि देखाएर एमालेले जबरालाई जोगाउन चाहेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


