भूमिहीन, दलित तथा सुकुम्बासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतारे

जनकपुरधाम, २२ साउन । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १९ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले आइतबार पनि मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले आइतबार बच्चा आन्दोलन गरेका छन् । भूमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले बच्चाहरुलाई राखेर प्रदर्शन गरिएको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए ।
‘भूमिहीनलाई भूमी देउ, यी बालबालिकाको भविष्य बनाउ’ नाराका साथ आफूहरुले बालबालिकासहित प्रदर्शन गरेको उनले बताए । आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन सरकारलाई ध्यानाकर्षण गराएकोसमेत उनले बताए ।
बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेस प्रदेश सरकार गम्भीर नभएको उनको गुनासो छ ।
आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका थिए ।
यी विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए ।
यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


