सप्तकोसीमा ‘हाई अलर्ट’ जारी

सप्तरी, २१ साउन । सप्तकोसी नदीको जलस्तर अस्वभाविक बढ्ने आंकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए । उनले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाई अलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको बताए । वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकाले समेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए ।
प्रजिअ यादवले उक्त बहाव कोसी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने देखिएकाले ब्यारेजमा समेत सतर्कता बढाइएको बताए । यसैबिच कोसीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाई अलर्ट जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोसी आसपासको क्षेत्रमा हाई अलर्ट जारी गरिएको बताए । कोसी ब्यारेजले ९ लाख क्युसेक बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन् ।
सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


