जनकपुरधाम, २० साउन । जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरप्रमुखविरूद्ध आन्दोलन गर्ने भएका छन् ।

नगरप्रमुख मनोजकुमार साहको निर्देशनमा सडक छेउछाउको फुटपाथमा पसल थापेर व्यवसाय गर्दै आएका साना तथा खुद्रे व्यापारीहरूले आइतबारदेखि आन्दोलन गर्ने भएका हुन् ।

फुटपाथ खाली गरेको एक साता बितेपनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ ।

साना तथा खुद्रा पसल थापेर व्यापार गरि जिविकोपार्जन गर्दै आएपनि आफूहरूको समस्याप्रति नगरप्रमुख साह गम्भिर नरहेकोले अन्तोगत्वा आन्दोलन गर्ने निर्णय गरेको एक खुद्रा व्यापारीले बताए ।

जानकी मन्दिरमा भेला भएका ती व्यापारीहरूले मेयर साहले विपन्न तथा गरिब वर्गका लागि वैकल्पिक व्यवस्थापन गर्न नचाहेकाले बाध्य भएर आन्दोलन गर्ने निर्णयमा पुगेको उनले बताए ।

स्थानीय युवा अगुवा सुशील कर्णले सहज र सहमतिमा कुनै पनि बाधा र अवरोध नगरि समाज, स्थानीय सरकार र सरोकारवालाहरूको आग्रहमा फुटपाथमा व्यवसाय गर्नेहरूले मन्दिर वरिपरिको फुटपाथ खाली गरेपनि अहिले आएर उनीहरूको व्यवस्थापन नहुँदा जिविकोपार्जनका लागि आन्दोलन बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।

अहिले मन्दिर परिसरमा खुद्रा व्यापारीले थापेको पसल तथा पूजा सामग्री बेच्ने स–साना व्यापारीको भीडले अस्तव्यस्त बनेको छ भने दर्शन गर्न जाने श्रद्धालुलाई झन सास्ती भोग्नु परेको छ ।

विगतमा मन्दिरको चारैतिर फुटपाथ कब्जा गरेर सञ्चालन गर्दै आएका स–साना पसललाई उपमहानगरले हटाएपछि खुद्रे व्यापारी मन्दिर परिसरमै व्यापार गर्न थालेका हुन् ।